images

आदर्श र नैतिकताका कुरा गर्ने कांग्रेस उपसभापति धनराज गुरुङ आफैँ प्रश्नको घेरामा

काठमाडौं । निकै आदर्श र नैतिकताका कुरा गर्ने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ आफैँ प्रश्नको घेरामा परेका छन् । कानुन मन्त्री समेत भइसकेका गुरुङले सहकारीको रकम अपचलन गरेको आरोपमा सिआईबीमा उजुरी परेको छ ।

उपसभापति गुरुङ र उनकी पत्नी ज्योति गुरुङले मितेरी सहकारीको रकम अपचलन गरेको भन्दै उजुरी परेको हो । तर, उपसभापति गुरुङले भने पत्नी ज्योतिसँग सम्बन्ध विच्छेद गरेको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् । यद्यपि उनीहरूको सम्बन्ध विच्छेद देखावटी मात्र भएको भन्दै छानबिन हुनुपर्ने आवाज चर्किँदै गएको छ ।

सहकारी प्रकरणमा मुछिने बित्तिकै उपसभापति गुरुङले आफ्नी पत्नी ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको दाबी गरेपनि हामीलाई प्राप्त प्रमाणहरूलाई आधार मान्ने हो भने उनीहरूको सम्बन्ध विच्छेद बाहिर हल्ला भए जस्तै नक्कली जस्तो देखिन्छ । किनभने उनकी पत्नी ज्योति गुरुङले २०७६ फागुन २८ गते सम्बन्ध विच्छेदको लागि जिल्ला अदालत ललितपुरमा फिराद पत्र दायर गर्छिन् । त्यसको अर्को दिन अर्थात् फागुन २९ गते नै धनराज गुरुङले प्रतिउत्तर पठाउँछन् । जबकि फिराद पत्र पठाएको केही दिनपछि मात्र अदालतले प्रति उत्तर दिनका लागि २१ दिन समय दिएर प्रतिवादीलाई पत्र पठाउँछ । तर यो सम्बन्ध विच्छेद पहिलेदेखि कै योजनामा भएको देखिन्छ ।

उनीहरूले देखावटी सम्बन्ध विच्छेद गर्नकै लागि फिराद पत्रदेखि प्रति उत्तरसम्म सबै पहिले नै तयार गरेका थिए । त्यसपछि फिराद पत्र दायर गरेको अर्को दिन नै प्रतिवादी गुरुङले प्रतिउत्तर पठाएका छन् । यो जस्तो नक्कली र योजना अनुसार भएको सम्बन्ध विच्छेद देख्न मुस्किल नै पर्छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रुपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको हो । मितेरी सहकारीको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ । ज्योति गुरुङ धनराजकी पत्नी हुन् । उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ । धनराज र ज्योति दुवैको नाममा ऋण निकालिएको र १४ करोड ८१ लाख रुपैयाँ उनीहरूले बैंककमा ज्योति भण्डारीलाई पठाएको भने पनि अहिलेसम्म झुलाइरहेको बुझिएको छ । यो विषय बाहिर आएपछि रास्वपाका सांसद गणेश पराजुलीले संसदमा नै प्रश्न उठाए । उनले अरुबेला नैतिकता र आदर्शका कुरा गर्ने एक जना माननीयले सहकारीमा ठगी गरेको विषय बाहिर आएको भन्दै छानबिन हुनुपर्ने बताएका थिए ।

संसद्मा नै प्रश्न उठेपछि जवाफ दिन बाध्य भएका धनराज गुरुङले ज्योति गुरुङ आफ्नो अहिलेको पत्नी नभई भूतपूर्व पत्नी भएको जिकिर गरेर आफू उम्किने कोसिस गरे । उनले सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको दाबी समेत गरे । उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रदर्शन गर्दै आएको भन्दै त्यसमा प्रतिबद्ध रहेको पनि दोहोर्‍याए । पत्नी सँग सम्बन्ध विच्छेद भइसकेको अवस्थामा अनावश्यक विषय ल्याएर बिषयान्तर गर्न खोजिएको उनको जिकिर छ ।

उनले आफूसँग सम्बन्ध विच्छेद भएको भनेर दाबी गरे पनि अदालतमा बुझाएका यस्ता कागजले सम्बन्ध विच्छेद केवल देखावटी भएको प्रस्ट हुन्छ । अरुबेला नैतिकताका कुरा गर्ने उपसभापति गुरुङलाई यति बेला भने नैतिक सङ्कट परेको छ ।