images

प्रधानमन्त्रीको दाबीः अब साना-ठुला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफूले नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहेको पनि बताएका छन् । उनले सरकारबाट दिने सेवाहरू उत्साहका साथ दिइने पनि प्रतिबद्धता जनाए ।

फाइल रोकेर एक ठाउँमा बस्ने कुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्ने कुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने प्रधानमन्त्री ओलीको भनाइ छ । त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताए ।

उनले भने, ‘हामी नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहिरहेका छौँ । अब आगामी दिनमा धेरै ठूलाठूला भ्रष्टाचारका काण्डहरू आदि इत्यादि, साना ठुला केही सुन्न पर्ने छैन भन्ने म ठान्छु । किनभने तपाईंहरुले बैंकबाट लोन प्राप्त गर्न, अरू कुराहरूको लागि सरकारको सेवा प्राप्त गर्न, तपाईँहरूले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरू र तपाईंहरुलाई सरकारको तर्फबाट कुनै कार्यालयले सेवा र त्यस सन्दर्भमा सरकारको तर्फबाट अत्यन्तै उत्सुकता र उत्साहका साथ सेवा पुर्‍याउने काम हुनेछ । हामीले सेवाको तरिकालाई अलिकति परिवर्तन गरेका छौँ । पहिलाको तरिका भन्दा, फाइल रोकेर एक ठाउँमा बस्ने तरिका, यस्ता कुराहरू हुने छैनन् । फाइल फटाफट सर्छ । अहिले हामीले एउटा सिस्टम विकास गरेका छौँ, की एक ठाउँबाट सुरु भएको फाइल त्यो प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ की कुन फाइल कहाँनेर पुगेको छ र कहाँ बसेको छ । त्यो हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौँ । त्यस फाइल ट्रयाकिङ सिस्टमले साधारण हिसाबले हामीले क्युआर कोर्ड राखिदिएका छौँ, त्यो क्युआर कोर्ड ट्रयाकिङ प्रधानमन्त्री कार्यालयले गर्न सक्छ । कहाँनेर छ, त्यो फाइल भनेर ट्रयाकिङ गर्छ । त्यहाँबाट किन अल्झियो, किन घर्रामा यति समय बस्यो भनेर भरसक फाइलहरू टेबलमाथिबाट घर्रामुनि छिर्न नपाउन् । घर्रामा फाइलहरूको बास नहोस्, त्यस ढङ्गले हामीले काम गर्न खोजिरहेका छौँ । त्यसअनुसारको प्रबन्ध गरिरहेका छौँ । छिटो छरितो ढङ्गले तपाईँहरूले सरकारी सेवा पाउनु हुनेछ । डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जित गरी परिमार्जित डिजिटल फ्रेम वर्क डिजिटल नेपालको परिकल्पनाका लागि त्यसलाई पूरा गर्न डिजिटल नेपाल फ्रेम वर्क । अब परिमार्जित डिजिटल फ्रेम वर्कमा हामी जाँदै छौँ । सबै सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन । काम गरेबापत कुनै नजराना केही चढाउनुपर्ने छैन । कतै भनसुन गर्न जानुपर्ने छैन । त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दै छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजराना चढाउनु नपर्ने र कतै भनसुन गर्न जानु नपर्ने पनि जिकिर गरेका छन् ।