images

हिंसा शब्द विवादले संसद प्रभावित, रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने माओवादीको अडान

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरुमा एक घण्टाका लागि स्थगित भएको थियो । त्यसपछि दिउँसो सवा तीन बजेसम्मका लागि स्थागित भएको बैठक स्थगित भएको हो ।

त्यतिबेलासम्म पनि सहमति जुट्न नसकेपछि बैठक सोमबारदिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । नेकपा एमालेका सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने नेकपा माओवादी केन्द्रको अडान छ ।

उक्त विषयमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरेका थिए । यद्यपि, उनीहरूबीच सहमति जुट्न नसकेपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो । यता, नेकपा एमाले भने सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको जवाफ दिँदै आएको छ । सभामुखको रुलिङबिरुद्ध आन्दोलन गर्ने कुरा बेठिक भएको भन्दै एमालेले यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि प्रश्न सिर्जना गरेको बताएको छ ।

संसद्मा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेपछि उक्त शब्द असंसदीय रहेको भन्दै माओवादीले रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएको छ । भदौ १२ गतेको बैठकमा एमाले सचिव भट्टराईले यस्तो शब्द प्रयोग गरेका थिए । भट्टराईले सो शब्द प्रयोग गरेका सम्बन्धमा सभामुख घिमिरेले छानबिनपछि भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा ‘माओवादी हिंसा’ भन्नु असंसदीय नरहेको ठहर भएको भन्दै रुलिङ गरेका थिए । त्यसयता माओवादीले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ ।