images

सहकारी रकम अपचलन छानबिन समितिको प्रतिवेदन संसदमा पेस

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्मा पेस गरिएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले प्रतिवेदन पेस गरेका छन् । आजै बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । प्रतिवेदन पेस गर्दै सभापति थापाले सहकारी क्षेत्र नक्कली कामहरूले प्रताडित रहेको बताएका छ् । उनले सहकारीमा देखिएको संकट समाधानका लागि समितिमा रहेका सबै दलका सदस्यहरूले एकमत भएर प्रतिवेदन तयार पारेको बताए ।

समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको सभापति थापाले संसद्लाई जानकारी गराएका छन् । उनले कार्यादेशमा रहेर महत्वपूर्ण १४ वटा सुझाव पेस गरेको भन्दै सहकारी क्षेत्र धर्मराए पनि प्रचुर सम्भावना रहेको बताए । थापाले सहकारी क्षेत्रमा मडारिएको कालो बादल प्रतिवेदनले हटाउने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको थियो । समितिमा एमालेबाट सरिता भुसाल, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।