images

नेपालमा शक्ति राष्ट्रहरूको चलखेल बढ्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढेको दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले नयाँ शीतयुद्ध चलिरहेको र त्यसको केन्द्रबिन्दु नेपाल बन्न सक्ने खतरा विज्ञहरूले औँल्याइरहेको बताए ।

अध्यक्ष दाहालले अहिले असामान्य ढङ्गको परिस्थिति सिर्जना भइरहेको उल्लेख गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताएका छन् । अध्यक्ष दाहालले राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरू भइरहेको जिकिर गरे ।

उनले भने, ‘यति बेलाको परिस्थिति, समग्र विश्व परिस्थिति पनि अहिले असाधारण, असामान्य ढङ्गले बढेको छ । चाहे रुस, युक्रेन युद्ध, अढाई वर्षदेखि चलिरहेको छ । त्यसको विश्वव्यापी असर छ । इजरायल र हमासबीच चलिरहेको लडाइँ वा इरान र इजरायलको बिचमा कति बेला विस्फोट हुन्छ थाहा छैन । अहिले संसार तेस्रो विश्वयुद्धको सङ्घारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि सुरु गरिएको छ । विश्व पहिलाको भन्दा पनि असुरक्षित भएको छ । अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एसियामा पनि परेको छ । श्रीलङ्का, बङ्गलादेशको घटनालाई हेर्दा थाहा हुन्छ । नेपाललाई राम्रोसँग उपयोग गर्न जान्यो भने नेपालको निम्ति ठुलो अवसर छ, हामीले जानेनौँ र सकेनौँ भने निकै ठुलो दुर्घटनामा पनि जान सक्छ । नयाँ शीतयुद्ध चलिरहेको र यसको केन्द्रबिन्दु नेपाल पो हुने हो की भन्ने कतिपयले भनेका छन् । अहिले शक्ति राष्ट्रहरुको ध्यान र चलखेल नेपालमा अलि बढी नै छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो छ, राष्ट्रिय परिस्थिति पनि सामान्य छैन । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरू केही समय यता भएका छन् । संसदीय प्रणालीमा पहिलो र दोस्रो ठुलो दलको सरकार प्रायः बनाउँदैनन् ।’

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एसियामा पनि परेको उल्लेख गरेका छन् ।