images

जनताको चाहनाअनुरूपको पार्टीलाई बन्देज गर्ने कुरा रास्वपाले स्वीकार्दैनः सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने कुरा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने कुरा आफूहरूलाई स्वीकार्य हुन नसक्ने बताएका हुन् । प्रमुख सचेतक परियारले नेपाली जनताको चाहनाअनुरूपको पार्टीहरूलाई बन्देज गर्ने प्रयास गरिए राष्ट्रिय स्वतन्त्र पार्टी संविधान संशोधनको पक्षमा नरहने उल्लेख गरेका छन् ।

उनले भने, ‘राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने, अनि तपाईँहरूले चाहेको जस्तो दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने । नेपाली जनताको चाहनाअनुरूपको पार्टीहरूलाई बन्देज गर्ने प्रयास गरिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी त्यो संशोधनलाई स्वीकार गर्दैन । कदाचित स्विकार्दैन । राष्ट्र निर्माणका आफ्ना इतिहासहरू हुन्छन्, सामान्यतया एउटा विकासको सिद्धान्त, क्रान्ति । त्यसको सिद्धान्तबाट राज्यहरू निर्माण हुन्छन् ।’

प्रमुख सचेतक परियारले आफूले बनाएको संविधानमाथि नै अहिलेका राजनीतिक दलहरूलाई विश्वास नभएको पनि आरोप लगाएका छन् ।