images

स्पेस फोरके टेलिभिजन स्थापनाको २ वर्ष पुरा, सुशासनका लागि खबरदारी जारी राख्ने प्रतिबद्धता 

काठमाडौं । स्पेस फोरके टेलिभिजनले स्थापनाको २ वर्ष पुरा गरेको छ ।
वि.सं. २०७९ असोज १० गते शुभारम्भ भएको टेलिभिजन सञ्चार जगतमा आफ्नो २ वर्ष रचनात्मक उपस्थिति पुरा गरी ३ वर्षमा प्रवेश गरेको हो । ग्यालेक्सी मिडिया ग्रुप प्रा। ली।द्वारा संचालित टेलिभिजनले बिहीबार एक कार्यक्रमको आयोजनासहित वार्षिकोत्सव मनाएको छ ।
दोस्रो वर्ष पूरा गरेको अवसरमा टेलिभिजनका अध्यक्ष डा। दिनेश कुमार शाहीले सम्पूर्ण दर्शक श्रोता, विज्ञापनदाता, शुभचिन्तक एवं कर्मचारीहरूमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष शाहीले वार्षिक उत्सव कार्यक्रमको अवसरमा बोल्दै टेलिभिजनलाई दोस्रो वसन्तसम्म रचनात्मक ढङ्गबाट सञ्चालन गर्न प्रयास गरेको बताएका छन् ।  शाहीले नागरिकसमक्ष सत्य र तथ्यवर्धक सूचना सम्प्रेषण गर्नुपर्ने भएकाले कुनै पनि स्वार्थ समूहको दबाब, प्रभाव र  प्रलोभनमा नपरेको बताए । अध्यक्ष शाहीले देश र नागरिकको हितलाई केन्द्रमा राखेर राज्यका सबै अङ्गलाई जिम्मेवार, जबाफदेही बनाउने, नागरिकलाई आफ्नो कर्तव्य निर्वाह गर्न सघाउँदै भ्रष्टाचार र  अनियमितता विरुद्ध टेलिभिजनले सधैँ आवाज बुलन्द गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा बोल्दै टेलिभिजनका कार्यकारी निर्देशक बाबुराम भुसालले २ वर्षको अवधिमा स्पेस फोरके टेलिभिजनले नेपाल सञ्चार जगतमा छुट्टै स्थान बनाएको बताएका छन् । निर्देशक भुसालले राज्यमा समावेशिता, सहभागिता र सहअस्तित्वलाई बढवा दिँदै संसारभरका ताजा सूचना, सन्देश र विचार निरन्तर दर्शकसामु प्रस्तुत गर्न भूमिका खेल्ने टेलिभिजनका सम्पूर्ण कर्मचारीहरूप्रति कृतज्ञता पनि व्यक्त गरे ।
आगामी दिनमा पनि सत्य तथ्यमा आधारित भएर बढीभन्दा बढी नागरिकको वास्तविक आवाजलाई सम्प्रेषण गरी देशमा सुशासन निर्माणका लागि टेलिभिजनबाट निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिइएको छ ।