images

पहाडी र हिमाली जिल्लामा रात्रि बस नचलाउन सरकारको आग्रह, ३ वटै सुरक्षा निकाय अलर्ट अवस्थामा

काठमाडौं । सरकारले शुक्रवार र शनिवार पहाडी र हिमाली जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टको बैठकले आजदेखि आइतबारसम्म ५६ वटा जिल्लामा ठुलो र अति ठुलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको हो । रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आङ्कलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।

यस्तै धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुईँ तलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय एवम् स्वयंसेवकहरू तयारी अवस्थामा राख्न, आइतबारसम्म अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, पूर्व तयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही अलर्ट मा रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।