images

प्रधानमन्त्रीको सन्देशः  दशैं उल्लासमय हुुनसकेन, अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैंमा परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् ।

एक भिडिओ सन्देश जारी गर्दै उनले बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले टीकाको कार्यक्रम नराखिएको बताएका हुन् । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुन स्थापनामा जुट्नुपर्ने र आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा आफू लागिपरेको प्रधानमन्त्रीको ओलीको भनाइ छ ।

उनले अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । सरकार भत्किएका घरहरू पुनर्निर्माण गर्नतर्फ र राहत तथा पुन स्थापनामा लागिरहेको भन्दै प्रधानमन्त्री ओलीले सहयोगमा जुट्न आग्रह गरेका हुन् ।

“यो वर्षको दशैं उल्लासमय हुन सकेन । दशैंको मुखमा दशैं अघि आएको भीषण बाढी र पहिरोको कारण २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । कति घाइते हुनुभयो । धेरै जनधनको क्षति भयो । भौतिक पूर्वाधार पुलहरू बाटाहरू ध्वस्त भए । धेरैलाई घरबारविहीन बनायो । पहिरावरका सदस्यहरू बाढी पहिरोले चुँडेर लग्यो । यसैले हामी विगतजस्तो हामी दशैंमा यो अवसरमा रमाउन सकेको छैनौँ । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुनर्स्थापनामा जुट्नुपर्ने आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा लागिरहेको छु ।” प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले गच्छेअनुसार दशैं मनाउन पनि सबैलाई आग्रह गरेका छन् ।