images

मिथिलाञ्चलमा छठको रौनक, जलाशय सजाउने चटारो

काठमाडौं ।  मिथिलाञ्चलमा हर्सोल्लाषपूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको छ ।

अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारीक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी सुरु हुन्छ ।

छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरुलाई सजाउने कार्य जारी रहेको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो ।

सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले श्रृंगारिँदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरु गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरुलाई सजाइँदै छ । गंगासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले तिहार सकिएलगत्तै छठको तयारी सुरु भएको बताएका छन् ।

जनकपुरधामका साथै तराई मधेसका गाउँ-गाउँमा रहेका पोखरीहरुलाई समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ ।

जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराजसर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरु छठ पूजा गर्ने गर्दछन् ।