काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतले जनाएको छ । मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ ।
यसअघि पहिलो पटक ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा म्याद थप गरेको छ । उक्त म्याद थपको समय कात्तिक १४ गतेदेखि गणना भएर कात्तिक २३ मा सकिनेछ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलगायत ५ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।