images
images

भव्य जित हासिल गर्‍यौं, अब स्वर्ण युग सुरू हुन्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने पक्कापक्की भएको छ। उनले आफू राष्ट्रपतिमा निर्वाचित भएको सार्वजनिक गरिसकेका छन्।

जित सुनिश्चित भएसँगै बुधबार फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यसपालि भव्य जित हासिल गरेको घोषणै गरेका छन्।

‘यो अमेरिकी नागरिकका लागि भव्य जित हो, यसले अमेरिकालाई पुनस् महान् बनाउनेछ,’ ट्रम्पले सम्बोधनमा भने।

यस्तै उनले अमेरिकामा अब स्वर्ण युगको सुरूवात हुने दाबीसमेत गरे।

‘म हरेक नागरिक, परिवार र भविष्यका लागि लड्नेछु। म हरेक दिन तपाईंहरूका लागि लडिरहनेछु। अन्तिम सास रहुञ्जेल म लड्नेछु,’ उनले भने, ‘यो साँच्चै नै अमेरिकाका लागि स्वर्ण युग हुनेछ।’

अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। ट्रम्पले दिउँसो २ बजेसम्म २६७ प्राप्त गरिसकेका छन्।

चर्को प्रतिस्पर्धा हुने मानिएका सात राज्यमध्ये तीन वटामा ट्रम्पले जित हासिल गरिसकेका छन् भने बाँकी चार राज्यमा पनि उनी अगाडि छन्। रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू भएदेखि नै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै आएका थिए।

ट्रम्प अहिले पपुलर मतमा पनि अगाडि छन्। ट्रम्पले ६ करोड ८४ लाख मत पाउँदा ह्यारिसले ६ करोड ३२ लाख मत प्राप्त गरेकी छन्।

तर अमेरिकामा पपुलर मतले नभई इलेक्टोरल मतबाट राष्ट्रपतिको छिनोफानो हुने गर्छ ।