
काठमाण्डौ । यही मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ ।
अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
कुल ४४ पदमा हुन लागेको उपचुनावका लागि चार सय १० जनाको उम्मेदवारी परेको छ । उनीहरूमध्ये ६६ जना महिला, तीन सय ४२ जना पुरुष र अन्य दुई जना छन् । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।