images

सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब रुपैयाँ पुग्यो, ४ महिनामा ८४ अर्ब थपियो

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८१\८२ को पहिलो चौमासिकमा झन्डै ८४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थपिएपछि कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको साउनमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहको थियो । विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गएको असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा चार अर्ब ९८ करोड बराबर सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ बराबर छ । सरकारले चालू आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यस्तै पछिल्लो चार महिनामा एक खर्ब आठ अर्ब १४ करोड रुपैयाँ साँवारब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।