काठमाण्डौ । नेपालमा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।
सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको छ । सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याएकोले सर्न कम भएर घटेको छ । अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि खाइरहेका छन् । औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् ।