images

पुराना दलले देश बिगारेको रास्वपाका प्रमुख सचेतक परियारको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् ।

भक्तपुरको मध्यपुर थिमीमा सम्पन्न भएको रास्वपा भक्तपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा परियारले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको आरोप लगाए ।

‘नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरू बेरोजगार भएर विदेशिनु पर्ने थिएन । मदन भण्डारीले देखाएको जनताको बहुदलीय जनवाद (जबज) नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन’, परियारले भने ।

रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डीपी अर्यालले नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका युवालाई प्रहार भइरहेको बताए । पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका लागि अनावश्यक दुःख दिइरहेको उनको टिप्पणी छ।

संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पार्टीका नेता कार्यकर्ताहरू ढुङ्गामुढा नगरिकन राजनीतिमा आएको बताए । पार्टी सभापतिलाई सरकारले साँधेको प्रतिशोधप्रति सचेत रहन आह्वान गर्दै निरन्तर शान्तिपूर्ण बाटोमार्फत भ्रष्टाचार र कुशासनको विरोध गर्न श्रेष्ठले आग्रह गरे ।