images

रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग एनपिएलमा चितवन राइनोजलाई हराउँदै पहिलो जित हासिल गरेको छ । मंगलवारको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युक बेनकेनस्टन अभिषेस गौतमले आउट गराए ।

कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भए । अर्का ओपनर सन्तोष कार्की पनि तेस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । उनलाई रामोन सिमण्डले आशुतोष घिरैयाबाट क्याच आउट गराए । चौथो ओभरको पहिलो बलमा सोहेल तन्भिर कप्तान पौडेलको बलमा कट एण्ड बोल्ड आउट भए । तन्भिर १ रनमा आउट भएका थिए ।

रोहितले नै चौधौं ओभरको तेस्रो बलमा जान निकोललाई एलबिडब्लु आउट गराए । जानले ७ बलमा ६ रन जोडेका थिए । कप्तान रोहितकुमार पौडेलको बलमा चितवनका ओपनर विपीन रावलले प्रहार गरेको बाउन्ड्रि बचाउने क्रममा तीव्र गतीका बलर दुर्गेश गुप्ता घाइते भएर मैदान बाहिरिएका थिए । घाइते दुर्गेशको स्थानमा फिल्डिङ गर्न सुर्य तामाङ मैदान प्रवेश गरेका थिए । त्यस लगत्तैको अर्को बलमा विपिन पहिलो विकेटका रुपमा आउट भए ।

लुम्बिनीका लागि कप्तान रोहितले ४ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए । रामोन सिमोण्डसले २ तथा साद विन जाफर र अभिषेस गौतमले समान १ विकेट लिए । त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए । उनले ६८ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक रोहितले ४३ बलमा पूरा गरेका थिए । रोहित लिगमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।