काठमाडौं । इजरायली लडाकु विमानले सिरियाको राजधानी दमास्कससहित देशभर आक्रमण शुरू गरेका छन् । सिरियामा विद्रोही समूहले सत्ता कब्जा गरेसँगै इजरायलले सैन्य लक्षित सयभन्दा बढी आक्रमण गरेको बीबीसीले जनाएको छ । इस्लामिक विद्रोह समूहले राष्ट्रपति बसर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि आक्रमण शुरू गरेको हो । इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ ।
इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमा समेत आक्रण गरेको हुनसक्ने आशङ्का छ । इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताउनुभएको छ । यसअघि परिवारसहित रुस पुग्नुभएका सिरियाका अपदस्त राष्ट्रपति असदलाई रुसले विद्रोहीसँग वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिइरहेको छ ।