काठमाण्डौ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
लामिछानेविरुद्ध फरक–फरक अभियोगमा छुट्टाछुट्टै तीन वटा आरोपपत्र दर्ता भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। तीन वटा छुट्टाछुट्टै अभियोगपत्र रहेकोमा कुल चार सय २७ पेजको अभियोजनापत्र रहेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता गरेको हो । लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनुपर्ने सिफारिशसहित गएको सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।