काठमाडौँ । आइतबार सेयर बजार नेप्से परिसूचक १३.५३ अंकले घट्यो । पछिल्लो समय बजार लगातार घट्दै गएको छ ।
आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको छ । आइतबार १५४ कम्पनीको मूल्य घट्यो । यसमध्ये सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंक लगायत कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो । तर ८४ कम्पनीको मूल्य बढेको छ । आइतबार सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्याग्दी हाइड्रोपावर र सुपरमादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर लिमिटेडको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आइतबार कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री भयो । ९१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख मूल्यको सेयर कारोबार भएको छ ।