images

सार्वजनिक लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।
पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिवलाई जिम्मेवारीबाट हटाएका थिए ।