images

सूर्यदर्शन सहकारी ठगी प्रकरणः सरकारी वकिलको जवाफी बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको कार्यालयबाट जवाफी बहस सुरु भएको छ ।

केहीबेर अगाडिदेखि जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा जवाफी बहस सुरु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको थुनछेक बहस सकिएपछि हिजोदेखी जवाफी बहस सुरु भएको हो ।

सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, हरि कट्टेल, रमन कर्ण र बिबी विष्टले बहस गरेका थिए ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको मुद्वामा सरकारी वकिलको कार्यालयको जवाफी बहस सकिएपछि थुनछेक आदेश आउने जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् । आज थुनछेक आदेशको सम्भावना रहेको उनको भनाइ छ । पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने या तारेखमा छाडेर मुद्दाको छिनोफानो गर्ने थुनछेक आदेशले तय गर्नेछ ।

सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालत कास्कीमा ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दायर गरेको हो ।