काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी तत्कालै छुटिहाल्ने सम्भावना भने छैन।
रविविरुद्ध कास्कीबाहेक अन्य ४ जिल्लामा समेत पक्राउ पुर्जी जारी भएकाले कास्कीमा धरौटी बुझाएर मात्र उनी रिहा हुने देखिन्न । काठमाडौं जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।
कास्कीको थुनछेक प्रक्रिया सकिएकाले सम्भवतः उनलाई काठमाडौं ल्याइने छ । काठमाडौं जिल्ला अदालतमा पनि उनको बयान र फेरि यस्तै थुनछेक बहस तथा आदेश हुनेछ ।
रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले रविसहित ३९ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अभियोजन पत्रमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रविसहित उनका पार्टनर एवं गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।