images

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

काठमाडौं । आउँदो चैत अन्तिम हप्तादेखि कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी तीब्र पारिएको छ ।

मंसिरमा हुने भनिएको प्रतियोगिताको नयाँ मिति तोकिएपछि तयारीलाई तीब्र पारिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आउँदो चैत २३ गतेदेखि ३० गतेसम्म सुर्खेतमा आयोजना हुने प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिएका छन् ।

प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा मुख्य रङ्गशाला तयार गरिरहेको छ । खेलकुद प्रतियोगिता हुने क्षेत्रसम्मको सडक पूर्वाधार, मर्मत र रङ्गरोगन, खानेपानी तथा आवासको व्यवस्थापनलगायतका काम भइरहेका छन् । राखेपका सदस्य–सचिव घिसिङले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका कामको प्रशंसा गरेका छन् ।

पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले गरेको लगानी र कामको अवस्थाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था नरहेको पनि उनको भनाइ छ । प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् ।