images

रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस, छुट्लान् त धरौटीमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस हुँदै छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए। त्यही दिन दिउँसो न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको थियो। तर समय अभाव भन्दै न्यायाधीश अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिए।
हाल लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। अब आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। प्रक्रिया हिजैबाट सुरु भइसकेकोले अब आजदेखि थुनछेक बहस सुरु हुने उनले बताए।  सोमबार बिहान सुरुमा नेपाल सरकारका तर्फबाट बहस उनको भनाई छ ।
बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा साधारण तारेख अथवा धरौटीमा रिहा गर्ने भन्ने आदेश अदालतबाट आउनेछ।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार थुनामुक्त भएपछि शुक्रबार काठमाडौं आइपुगेका रवि आइतबार अदालतमा आफैँ उपस्थित भएका हुन्।
रविविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्ने तयारी छ भने रविका पक्षबाट पूर्वन्यायाधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्।