images

रवि लामिछानेमाथिको थुनछेक बहस सकिएन, अझै दुई दिन हिरासतमा रहने

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथिको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमै फर्काइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ । अब बुधबार अदालतमा उपस्थित गराउन प्रहरीलाई भनिएको छ । उनलाई आइतबार पनि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

न्यायाधीश अधिकारीको इजलासमा सोमबार लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका छन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन् । यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् ।

मंगलबार सार्वजनिक बिदा भएकाले मुद्दाको अर्को सुनुवाइ बुधबारमात्रै हुनेछ । त्यतिबेलासम्म लामिछाने न्यायिक हिरासतमै रहनेछन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आफैँ आइतबार अदालतमा हाजिर भएका थिए । तर आइबार थुनछेक बयान मात्रै भएपछि न्यायाधीश अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए ।

सोमबारको थुनछेक बहसमा भने सरकारी वकिलहरु सबैले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क थियो । तर रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले भने बहसका क्रममा लामिछानेलाई साधारण तारिखमा रिहा गर्नुपर्ने जिकिर गरे । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका लागि कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि पुस २४ गते धरौटीमा रिहा भएका थिए ।

धरौटीमा रिहा भएको ३ दिनपछि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आइतबारदेखि पुनः हिरासतमा पठाएको हो । प्रतिवादीको बहस सकिएर सरकारी वकिलले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ ।