काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूट र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट पारे ।
उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पु¥याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको तर तिनै विरोध गर्नेहरुले ‘लाज’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफू त्यस्तो काम नगर्ने बताए ।
प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपति समक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यस्को विरोध भयो भन्ने झुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए ।
जारी हुन नै बाँकी रहेको अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उनले देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरेको बताएका छन् ।