काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा आज शुक्रबार(आज) मुद्दा दर्ता गर्ने तयारी छ ।
जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार यसअघि नै अभियोजन भइसकेका गितेन्द्रबाबु राई (जीबी राई) लगायतको मुद्दामा बिगो बढाएको छ । रुपन्देही अदालतमा यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा बिहीबार जीबी राईलगायत १७ जनाविरुद्ध बिगो बढाएको हो ।
यसअघि नै प्रतिवादी बनाइएका जीबी राई, ओमप्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ । उनीहरूविरुद्ध २ करोड ७ लाख रूपैयाँ बिगो थप भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
यसअघि १ अर्ब ३ करोड बिगोसहित उनीहरूविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएको थियो । सञ्चालक समिति सदस्यसमेत रहेका रोकाविरुद्ध भने सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अभियोग थप गरिएको छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा ५ करोडभन्दा बढी बिगो कायम गरिएको छ ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशी बञ्जाडेविरुद्ध शुक्रबार पूरक अभियोजन गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
सुप्रिमबाट रविकै नाममा २ करोड रूपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । रविले नक्कली ऋणी खडा गरेर ऋण लिएका थिए । सरकारी वकिल कार्यालय रुपन्देहीमा भने रविले इन्कारी बयान दिएका थिए ।
सरकारी वकिल कार्यालयले पहिलो चरणमा २८ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ ।
सुप्रिममा १ हजार ८३१ बचतकर्ताको १ अर्ब ३१ करोड रूपैयाँमध्ये ८६ करोड १८ लाखभन्दा बढी अपचलन भएको अनुसन्धानको निष्कर्ष छ ।
२०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरी जीबी राईले २०७२ फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए ।
सुप्रिम ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसहित ६ जना यसअघि नै धरौटीमा छुटेका थिए । प्रतिवादीहरूमध्ये अधिकांश अहिले पनि फरार छन् ।
प्रतिवादीमध्ये रविलाई उनको नाममा गएको २ करोड र गोर्खा मिडियामा गएको रकममध्ये सामूहिकतर्फ २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार बिगो माग दाबी गर्ने तयारी छ ।
त्यस्तै, जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रूपैयाँ बिगो दाबी गर्ने तयारी छ ।
रुपन्देहीमा अभियोजन भएपछि रवि अदालतमा आफैं उपस्थित नभए प्रहरीले पक्राउ गरेर लैजाने छ । तर, रवि अदालतमा आफैं उपस्थित हुने तयारीमा छन् ।
सहकारी ठगी प्रकरणमा रविविरुद्ध चितवन र पर्सामा पनि मुद्दा दर्ताको तयारी छ ।