काठमाडौं । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आइतबार पनि जारी रहने भएको छ। लगातार तीन दिन भएको बहस शुक्रबार नसकेपछि आजका लागि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगीको बयानका लागि गत बुधबार अदालतमा उपस्थित भएका रविको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको हो। शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए । आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन्। जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो । लामिछाने काठमाडौं जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए ।
पर्सा र बुटवललगायतका जिल्लामा पनि रविको मुद्दा विचाराधीन अवस्थामा छ। यसअघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।