images

रास्वपा सभापति रवि लामिछानेबिरुद्ध चितवनमा पनि मुद्दा दर्ता

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज दर्ता गरिएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो । चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ ।

सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ । यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो ।