images

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

काठमाडौं । साहारा चितवन सहकारी ठगीको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको हो । अदालतले माग गरेको धरौटी बुझाए लामिछाने आजै रिहा हुनेछन् । बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।

यसअघि बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका थिए । तर, रविको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले भने उनलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।

रविमाथि सहारा चितवन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । उक्त सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा गोर्खा मिडियामा प्रवाह गरेको भेटिएको छ । सहकारीको रकम कम्पनीमा लैजानु गैरकानुनी रहेको र यसमा रविसँगै छविलाल जोशी बन्जाडे, जीबी राई र कुमार रम्तेलको संलग्नता रहेको दाबी अभियोगपत्रमा गरिएको छ ।

यस मुद्दाका ३२ जना प्रतिवादीमध्ये १२ जनालाई सहकारी ठगीका साथै संगठित अपराधको कसुरमा पनि मुद्दा चलाइएको छ । रविलाई संगठित अपराधमा मुद्दा नचलाउँदा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल महान्यायाधिवक्ता कार्यालयको छानबिनमा परेका छन् ।

यसअघि सहकारी ठगीकै मुद्दामा रवि तीनवटा जिल्ला अदालतबाट पनि धरौटीमै रिहा भएका थिए । अब पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको ठगी प्रकरणमा पनि उनीमाथि मुद्दा चलाउने तयारी छ । प्रहरीले अनुसन्धान अन्तिम चरणमा पु¥याइसकेको छ । कास्की प्रहरीको हिरासतमा छँदा रविसहितका अभियुक्तलाई वीरगन्ज पु¥याएर बयान लिइएको थियो ।