![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2025/02/Bimansthal.jpg?fit=1568%2C731)
काठमाडौं । ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधार बेवारिसे अवस्थामा छन् । नेपालमा बनेका ५५ वटा विमानस्थलमध्ये आधा भन्दा धेरै विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका हुन् । हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५ वटा विमानस्थल छन् । त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय हुन् । यसबाहेक ५२ वटा विमानस्थल आन्तरिकतर्फ प्रयोग गर्ने लक्ष्यसहित निर्माण भएका हुन् । तर, सञ्चालनमा रहेका झन्डै ३० वटा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमध्ये केही मात्र नाफामा छन् । तर नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता हंश राज पाण्डे भने सेवालाई सधैँ नाफा र घाटासँग तुलना नहुने तर्क गर्छन् ।
कैयौँ दशक अगाडि बनेका विमानस्थल पनि यतिबेला सञ्चालनमा आउन सकेका छैनन् । कतिपय विमानस्थल घाँसे मैदानको रूपमा परिणत भएका छन् । प्राधिकरणका अनुसार कालोपत्रे गरिएका २८ र कच्ची १३ वटा विमानस्थल छन् । त्यस्तै १३ वटा विमानस्थलमध्ये दार्चुला, ढोरपाटन, गोरखा, जिरी, चण्डेश्वरी, लाङटाङ, रोल्पा, स्याङबोते र महेन्द्रनगर विमानस्थल उडान हुनै अयोग्य विमानस्थल हुन । त्यस्तै कच्ची विमानस्थलमध्ये टिकापुर सञ्चालनमा छ भने काङ्गेल डाँडा, मेघौली, कमलबजार विमानस्थल सञ्चालनमा छैनन् । त्यस्तै कालोपत्रे नै भएकामध्ये बलेवा, बैतडी, मसिनेचौर, डोटी, कालिकोट, मनाङ, लामिडाँडा, चौरजहारी, सल्ले र रुम्जाटार विमानस्थल पनि सञ्चालनमा छैनन् । यद्यपि यी विमानस्थलमा आकस्मिक उडान भने हुने गरेका छन् ।
भएका विमानस्थललाई सधैँ सञ्चालन गरिरहने र नाफा सञ्चालन गर्ने विकल्पको खोजी गर्नुको सट्टा नयाँनयाँ ठाउँमा विमानस्थल बनाउने योजना बनाउनमा सरकार तल्लीन देखिन्छ । यसले गर्दा हवाई क्षेत्र सुरक्षित हुने र वायुसेवाहरू नाफामा सञ्चालन हुने भन्दा भन्दा पनि मतदाता रिझाउने बाहेक अर्को उपलब्धि देखिँदैन ।