काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रम शोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको जनाएको छ ।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको विज्ञप्तिमा दाङ जिल्ला निवासी एक बालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रम शोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरिएको बताएका हुन् ।
शर्मालाई उन्मुक्ति दिएको भन्दै सञ्चार माध्यममा प्रकाशित समाचार पछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको उनको भनाइ छ ।
सो क्रममा उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यालयसमक्ष पेश गरेको राय सहितको प्रतिवेदन समेत सात दिनभित्र उपलब्ध गराउन आयोगले आजै पत्राचार गरेको उनले बताए ।
शर्माले राजधानीको धुम्बाराहीस्थित निजी निवासमा बालिकालाई ६ वर्षदेखि बन्धक बनाएर श्रम शोषण गरेको आरोप छ ।