images

मेलम्चीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न, के भन्छ मन्त्रालय ? (भिडियोसहित)

काठमाडौं मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौंको बबरमहल क्षेत्र जलमग्न बनेको छ । बुधवार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनसहित आसपासका बस्ती नै डुबानमा परेका छन् । वन परिसर पछाडिको बस्ती पनि डुबानमा परेको छ । पानीको उचित निकास नहुँदा पाइपबाट आएको पानीले नै बस्ती डुबानमा परेको हो ।

पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ आवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ ।

खानेपानी मन्त्रालयले बबरमहलमा खानेपानीको पाइप फुट्नुको दोष नेपाल विद्युत् प्राधिकरणलाई लगाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताएका हुन् ।

पानी बन्द गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुखलाई निर्देशन दिइसकिएको पनि मन्त्रालयले जनाएको छ । पाइप फुटेर पानी पसेपछि बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको थियो । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ आवतजावतमा पनि समस्या भएको छ । सरकारी भवनमा पानी जमेपछि त्यहाँ अलपत्र परेका कर्मचारी र सर्वसाधारणको उद्धार गरिएको छ ।  त्यस्तै महत्त्वपूर्ण कागजात पनि सुरक्षित स्थानमा सारिएको छ ।