
काठमाडौं । काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्रबाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरीतका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदासमेत नमानेको कारणले जबरजस्ती गर्नुपरेको बताएका छन्।
उनले कवाड व्यवसायमा रोक लगाउन नगर पहरीले सम्झाउँदासमेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरुलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाए। उनले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरे।
कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले बताए।
उनले अझै पनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको बताए। महानगर प्रहरी स्थानीय तहको प्रहरी भएको कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उनको भनाइ छ।
उनले चैतवैशाखमा आउने हुरीले टहराहरु उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरु हटाउन स्थानीयलाई आग्रह गरे। कवाड हटाउन अझै अटेर गरेको अवस्थामा महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुने उनको भनाइ छ।