images

केबलकार विवाद: आइतबार बिहानदेखि ताप्लेजुङमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं पाथीभरा केबलकार विवादले उग्र रूप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।

सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुनेछ।

अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ। शनिबार साँझमात्र केबलकार पक्ष र विपक्षको झडपमा दर्जनौ स्थानीय घाइते भएपछि प्रशासन निषेधाज्ञा जारी गर्न पुगेको हो। सूचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूहउपर प्रचलित कानून बमोजिम कारबाही हुने बताएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार फुङलिङ नगरपालिका बजार क्षेत्रको पूर्वतर्फ फुङलिङ नगरपालिका वार्ड नं ७ सल्लेरी, पश्चिमतर्फ फुङलिङ नगरपालिका वार्ड नं ७ घोडेचौर (बलाङ धारा क्षेत्र सम्म), उत्तरतर्फ फुङलिङ नगरपालिका वार्ड नं ४  उकालीपानी  र दक्षिणतर्फ फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)सम्म निषेध आदेश जारी भएको छ ।

यसैगरी, काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा पनि निषेध आदेश जारी भएको छ । जसअनुसार पूर्वमा पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिममा बल्लुडाँडा/ डडेले इलाका, उत्तरमा केबलकार बेस स्टेशन/ पानीको मुहान इलाकाको १०० मिटर  र दक्षिणमा नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)मा निषेध आदेश जारी भएको छ ।