images

जनताको साथ खोज्दै माओवादीले बढायो सक्रियता, झापाबाट सरकारविरुद्ध खबरदारीसहित अभियान सुरु

काठमाडौं । १० वर्षपछि बाध्यतावश सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्र पछिल्लो समय मोफसल केन्द्रित भएको छ ।

कांग्रेस–एमालेको सहमतिपछि अल्पमतमा परेर कुर्सी गुमाएको माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनतासँग नजिक हुन प्रयास गरिरहेका छन् । २०८४ को आम निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने दाउ कसेको माओवादीले अहिले फेरि जनतासँग माओवादी कार्यक्रम अन्र्तगत हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान शुरू गरेको छ । जुन अभियानले पार्टीलाई जरैबाट मजबुत बनाउने माओवादीको अपेक्षा छ ।

सोमबारदेखि देशको सबैभन्दा होचो स्थान केचनाकवलको हुकाहुकी चोकमा एक महिने अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । मुलुकको पूर्वी सीमाना नजिकैबाट शुरु भएर सुदूरपश्चिम प्रदेशको कञ्चनपुरसम्म सञ्चालन हुने उक्त अभियानमा हजारौंलाई पार्टी प्रवेश गराउने योजना सफल बनाउने माओवादी दाबी छ ।

केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन् । दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायतको एजेण्डा लिएको छ ।

जागरण अभियानको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सबैतिरबाट अहिले आफूलाई सरकारमा नजान सुझाव आएकाले अहिले सरकारतिर नभई ध्यान जनतासँगै भएको बताएका छन् । उनले स्थानीय तहको उपनिर्वाचनमा माओवादी पहिलो भएको दाबी गरे। उनले कांग्रेस र एमाले मिलिरहे माओवादी ठूलो पार्टी बन्ने बताए । राष्ट्रिय एकतालाई बलियो बनाउन र सुशासन कायम गर्न नदिने तत्वका विरुद्ध नेपाली जनता एक हुनुपर्ने बताएका छन् ।

अराजकता र अस्थिरता कायम गर्ने तत्त्वहरूका विरुद्ध पनि देशका जनता एकजुट हुनुपर्ने बेला आएको बताए । कचनकवल स्तम्भ जस्तै देशका यस्ता ऐतिहासिक महत्त्व बोकेका स्थलहरूको पहिचान गरी संरक्षण र सम्वद्र्धन गर्न उनले सबै समक्ष अपील समेत गरेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी रुपान्तरण हुनुपर्ने बताएका छन् । जनताको आवाजलाई पूरा गर्नको लागि पहिले माओवादी र नेतृत्व बदलिनुपर्ने उनको भनाइ छ । जनताको भावना र मागसँग जोडेर संगठन निर्माण गर्नुपर्नेमा जोड दिए ।

यता, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरेकामा मुलधारका राजनीतिक दलका नेताहरुले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् । यसै सन्र्दभमा उपमहासचिव वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् । जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए । जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए । उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको जिकिर गरेका छन् ।

अभियानअन्तर्गत मंगलबार मोरङ र बिहीबार सुनसरीमा कार्यक्रम छन् ।फागुन १६मा सप्तरी, १७ मा सिरहा, १८ मा धनुषा, १९ मा महोत्तरी, २१ मा सर्लाही, २२ मा रौतहट, २३ मा बारा र २४ मा पर्सामा कार्यक्रम हुनेछन् । चितवनमा फागुन २५ गते नेताहरूले सम्बोधन गर्नेछन् । त्यस्तै, नवलपुर (नवलपरासी पूर्व)मा फागुन २६ गते जागरण सभा हुनेछ । फागुन २७ मा परासी (नवलपरासी पश्चिम), २८ मा रुपन्देही, चैत २ मा कपिलवस्तु, ३ मा दाङ, ४ मा बाँके, ५ मा बर्दिया, ६ मा कैलाली र ७ मा कञ्चनपुरमा जागरण सभा सञ्चालन हुनेछ । यो अभियान सकिएपछि आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्व–पश्चिम जागरण अभियान सञ्चालन हुने छ ।