
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएका छन्। पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ ।
महाशिवरात्रिका अवसरमा आज विशेष पूजाका लागि १५ हजार एक सय,३५ हजार र ६५ हजारको रसिद काटिएको पशुपति विकास कोषले जनाएको छ ।
महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि गरेको थियो । नेपाली सेनाले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । अन्य विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।
महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल,तिलगङ्गा,गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर,नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।