
काठमाडौं । नेपालका कम्युनिष्टहरूबीच राजनीतिक मतभेद देखिँदा सतहमा आउने विषय हो जनयुद्ध । जनयुद्ध एक हिंसा हो भन्दै कम्युनिष्ट नेताहरूले नै ठुलो स्वर लगाउने गरेको पाइन्छ । स्वार्थ नमिल्दा एकअर्काविरुद्ध पानी बाराबारको अवस्थामा पुग्ने नेपालका कम्युनिष्ट पार्टीहरूका लागि यो नौलो विषय भने होइन । तर हुँदाहुँदा आफैंले लडेको जनयुद्धलाई समेत हिंसा हो भन्दै कुर्लिनु कतिसम्मको नैतिकता हो? यही प्रश्नको नैतिक संकटमा घेरिएका छन् जनयुद्धका कमान्डर रामबहादुर थापा बादल ।
गत माघ २४ मा अछाम पुगेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व माओवादी नेता अझैं भनौ जनयुद्धका कमान्डर रामबहादुर थापा बादलले जनयुद्ध हिंसा नै हो भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वरमा स्वर मिलाएपछि एकाएक उनको चर्को विरोध र आलोचना हुँदै आएको छ । तत्कालीन नेकपाको एकता भंग भएपछि केपी शर्मा ओलीलाई साथ दिँदै नेकपा एमालेतर्फ उभिने शीर्ष नेता हुन्, रामबहादुर थापा बादल । त्यसबेला बादलसहित माओवादी पृष्ठभूमिका ठूलै समूहले ओली र पुनर्स्थापित एमाले रोजेका थिए । जसमध्ये अहिले बादल एमालेका उपाध्यक्ष र लेखराज भट्ट सचिव छन् । उनीहरू मध्ये लेखराज भट्टले फाट्टफुट्ट बोल्ने गरेपनि बादलको बोली सुन्नै निक्कै मुस्किल छ । उनी सार्वजनिक अभिव्यक्ति दिनु त परको कुरा भयो, एमालेकै आन्तरिक बैठकहरूमा समेत बोल्दैनन् । हुन त बादलको यो पुरानै स्वभाव पनि हो । तर त्यो दिन अध्यक्ष ओलीसहित एमाले नेताहरूले जनयुद्धलाई हिंसा भन्ने टिप्पणी बारेको जिज्ञासामा बादलले लामो पृष्ठभूमिसहित जवाफ दिए । जसमा उनले जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेको हिंसा हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ भन्दै व्याख्या नै गरेका छन् ।
केहीसमय अघि एमाले सचिव योगेश भट्टराईले जनयुद्ध भनेको हिंसा नै हो भन्दै बोलेपछि संसद्मा नै हंगामा भएको थियो ।
यता, माओवादी नेताहरू भने जनयुद्धलाई हिंसा भन्ने अभिव्यक्तिको कडा प्रतिवाद गर्छन् । माओवादी नेताहरूले रामबहादुर थापा बादलले जनयुद्धलाई गलत व्याख्या गरेको भन्दै समयले हिसाब किताब गर्ने चेतावनीसमेत दिएका छन् । माओवादी युद्धको राप तापको बलमा नेताको रूपमा उदाएका थापाले माओवादी जनयुद्धको इतिहासलाई बंग्याउन खोजेको उनीहरूको आरोप छ ।
सत्ता र शक्ति संघर्षका कारण सिङ्गो माओवादी आन्दोलन अहिले छिन्नभिन्न भएको छ । एक दर्जन गुट–उपगुटमा विभाजित छन् । माओवादी शान्ति प्रक्रियामा आएको पनि २० वर्ष पुग्न लागिसकेको छ तर अहिलेसम्म जनयुद्ध हो कि हिंसा भन्ने विषयमा माओवादी घटक र अहिलेका सत्ताधारी दलहरूबिच बेलाबेला द्वन्द्व बढेको देखिन्छ । यसबिचमा झण्डै १०÷११ वर्ष सत्तामा रहेर पनि जनयुद्धका सहिद, घाइते बेपत्ता परिवारको व्यवस्थापनमा नेतृत्वले ध्यान नदिएको पीडितहरूका गुनासा छन् । नेताहरू सत्तामुखी भएको, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दा छोड्दै गएको, माफिया–तस्करसँग उठबस गरेर माओवादी आन्दोलनलाई कमजोर बनाएको आरोप नेता तथा कार्यकर्ताहरूले नेतृत्वप्रति लगाएका छन् ।