
काठमाडौं । नेपालमा माटो सुहाउँदो नीति बन्न नसक्दा विकास र समृद्धिमा बाधा अड्चन आइरहेको सरोकारवालाहरूले बताउन थालेका छन् । विश्व समुदायले आफ्नो प्राकृतिक स्रोत साधन उपयोग गरेर मुलुकमा विकासको गति बढाइरहेका बेला नेपालमा जहिले उल्झन आउने गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको भनाइ रहेको छ । आफ्नो मौलिकतालाई प्रदर्शन गरेर नेपालले ठूलो उपलब्धि हासिल गर्नसक्ने भएपनि त्यतापट्टी सरकारको समेत ध्यान जान नसकेको उनको तर्क रहेको छ । नेपालले अब ऊर्जामा लगानी गर्नेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । नेपालमा हाइड्रोजन फ्यूलको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै तामाङले त्यसको अन्वेषणमा ध्यान दिनपर्ने जिकिर गर्नुभयो । नेपालको पानीलाई समेत विश्व बजारमा पुर्याउन सके ठूलो आम्दानी गर्न सकिने सम्भावना छ ।
नेपालमा प्रचुर सम्भावना रहेको गाँजा खेती, लोकल मदिराको ब्रान्डिङ गर्न सके जनताको जनजीविकामा प्रत्यक्ष सुधार आउने देखिन्छ । प्राकृतिक रूपमा वरदान पाएको मुलुकलाई व्यवस्थापन गर्न नसक्दा विभिन्न समस्याहरू आउने गरेका छन् । भएका स्रोत साधनको भरपुर उपयोग गरी नयाँ रोपणको तयारीमा लाग्नसके पनि आर्थिकस्थितिमा सुधार आउने देखिन्छ । एमाले नेता तामाङले आफ्नो पार्टी समेत पूर्वाधार विकासका मामलामा सकारात्मक भएपनि जनताको चूलोसम्म पुग्न नसकेको बताए । हरेक नागरिकले अनुभूति हुनेगरी कार्ययोजना निर्माण गर्नु र आफ्नो चिजलाई प्राथमिकता दिन सक्नु नै आजको प्रमुख आवश्यकता हो ।