images

यस कारण नेपाल भूकम्पको जोखिममा, जुनसुकै बेला आउन सक्छ ठुलो भूकम्प (भिडियोसहित)

काठमाडौं नेपालमा तारनतार भूकम्प गइरहन्छ । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो , त्यो भन्दा अगाडि पुष २३ गते पनि भूकम्पको धक्का महसुस भयो । महसुस गर्न नसकिने कम्पन र पराकम्पनहरूको सङ्ख्या अनगिन्ती छन् । अर्थात् नेपालमा साना तिना गरेर दैनिक दर्जनौँ कम्पनहरू भइरहेका हुन्छन् । भूकम्पीय दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मुलुकमध्ये पर्ने नेपालमा त्यसको पूर्वतयारीमा भने सरकार र नागरिकहरू केही चुकेको देखिन्छ ।

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा बर्मासम्म करिब २५ सय किलोमिटर लामो हिमालय क्षेत्र छ । यसमध्ये करिब आठ सय किलोमिटर अर्थात् एकतिहाइ भाग नेपालमा पर्छ । यसमा पर्ने ‘टेक्टोनिक प्लेट’हरूबिचको टकराब र ऊर्जा सञ्चितिका कारण नेपाल भूकम्पको जोखिममा रहेको विपद् विद्हरू बताउँछन् ।

नेपाल विश्वका अन्य देशहरूको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औं रहेको विभिन्न अध्ययनहरूले जनाएका छन् । २०७२ वैशाख १२ गते गएको महा–भूकम्पमा हालसम्म मृत्यु हुनेको संख्या आठ हजार र घाइते हुनेको संख्या सत्र हजार भन्दा माथि पुगिसकेको र लाखौं घर भत्किएको र क्षतिग्रस्त भएको थियो। वि.स. १९९० साल माघ २ गते दिनको २ बजेर २४ मिनेट जाँदा नेपालको पूर्वी क्षेत्र चैनपुर केन्द्र बिन्दु भएको ८.३ रेक्टर स्केलको महा–भूकम्प जाँदा ८५१९ को मृत्यु भएको थियो। जसमा काठमाडौँमा जम्मा ४२९६ जनाको मृत्यु भएको थियो। सो भूकम्पबाट २,०७,७४० घर, देवालय, र पाटीपौवा भत्केका थिए। बि.सं. २०३७ साल साउन १४ गते बझाङ जिल्लामा गएको ६.५ रेक्टर स्केलको भूकम्पमा १०३ जनाको मृत्यु भयो भने २५०० भन्दा बढी घरहरूलाई क्षति पुर्‍याएको थियो। त्यस्तै २०४५ साल भदौ ५ गते बिहान ४ बजेर ५४ मिनेटमा नेपालको पूर्वी भाग उदयपुर जिल्लामा केन्द्रबिन्दु भएको ६.५ रेक्टर स्केलकोमा ७२१ जना को मृत्यु भएको र ६५००० भन्दा बढी घरलाई क्षति पुर्‍याएको थियो। माथिका यी तथ्याङ्कहरू हेर्दा नेपाल साँच्चिकै एउटा भूकम्पीय जोखिम क्षेत्रमा रहेको प्रस्ट हुन्छ। जोखिमयुक्त देश भएका कारण विपद् व्यवस्थापनको प्रभावकारी कार्यान्वयन गर्न विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति २०६६, तर्जुमा गरिएको छ । खानी तथा भूगर्भ विभाग अन्तरगत राष्ट्रिय भूकम्प मापन केन्द्रको स्थापना गरेर हाल २१ वटा स्टेसनहरू मार्फत भूकम्पसम्बन्धी सूचना सङ्कलन गरी ४ रेक्टर स्केलभन्दा बढीका भूकम्पको सूचना तत्काल सार्वजनिक गर्ने व्यवस्था गरिएको छ। तर समयसमयमा ठुलठुला भूकम्प गए पनि क्षति न्यूनीकरण गर्नको लागी सरकार र स्वयम नागरिकको तहबाट उल्लेख्य काम भने भएको छैन । यद्यपि पहिलेको भन्दा चेतनाको अवस्था सुध्रिँदै जाँदा भूकम्प प्रतिरोधात्मक घर बनाउनेदेखी भूकम्प आइहालेमा आफू सुरक्षित हुने उपायहरू अपनाइरहेका हुन्छन् ।

प्रकोपको घटना घटिसकेपछि मात्र राहत र उद्धारमा केन्द्रित हुनु, विपद् व्यवस्थापनका लागि आवश्यक पर्याप्त स्रोत, साधन, जनशक्ति र संस्थागत संरचनाको व्यवस्था गर्न नसक्नु, विपद् व्यवस्थापनमा जोखिम न्यूनीकरणलाई भन्दा विपद् प्रतिकार्यलाई बढी जोड दिइरहेको अवस्था छ । त्यसैगरी जोखिम व्यवस्थापनका लागि स्रोत साधनको कमी, दुर्गम र कठिन भौगोलिक अवस्था,भौतिक पूर्वाधारको कमी, विपद् जोखिम न्यूनीकरणमा पर्याप्त प्रचार–प्रसार,जनचेतनाको कमी हुनु, आधुनिक प्रविधि,उपकरण र यन्त्रको अभाव, योग्य र तालिम प्राप्त सम्बन्धित व्यक्तिको कमी, अव्यवस्थित बस्तीहरू, विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै निकायहरूकाबीच समन्वयको कमी, काम र जिम्मेवारीको उचित बाँडफाँड हुन नसक्नु,पर्याप्त बजेटको अभाव हुनु, विपद्को पूर्व सूचनामा आधुनिक प्रविधिको प्रयोग हुन नसक्नु र विपद् जोखिम मूल्याङ्कन गर्ने पद्धति स्थापित हुन नसक्नु जस्ता समस्याहरू रहेका छन् । यस्ता विषयमा विपद् पछिको प्रतिकार्य भन्दा पनि जोखिम न्यूनीकरणमा राज्य संयन्त्रले गम्भीर भएर सोच्न जरुरी देखिन्छ ।