
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।
सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अर्धवार्षिक रिपोर्ट कार्डमा प्रधानमन्त्री आँफै फेल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै साहले प्रश्न गरे ।
सरकारको नेतृत्वकर्ता नै फेल भएपछि सरकारमा कुन मोरल लिएर बस्न सकेको भन्दै उनले प्रधानमन्त्री ओलीको आलोचना गरे ।
उनले भने,‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याविनेटमा आधाभन्दा बढि मन्त्रीहरु नै फेल भएका छन् । यो फेलियरहरुको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ? प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन् । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक आएको छ ।
साहले अहिले सत्ता गठबन्धनमा समेत कलह देखिएको दाबी गरेका छन् । उनले देश दलतन्त्रको दलदलमा फसेको र मुलुक महासंकटमा पुगेको गम्भीर आरोप लगाए ।
साहले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयम प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरे । उनले अहिलेको सरकारको व्यवहारको कारण जनताको हाल बेहाल भएको र मुलुक दिनानुदिन असफल राष्ट्रको यात्रामा अघि बढेको गम्भीर आरोप लगाए ।
उनले अहिलेको सरकार ७ बुँदे सहमतिको जगमा बनेको भनिएको उल्लेख गर्दै ७ महिना व्यतित हुँदापनि चालु आर्थिक वर्षमा ७ खर्बपनि राजश्व संकलन गर्न नसकेकोमा पनि प्रश्न उठाए ।
उनले भने,‘यो सरकार आर्थिक रुपमा पूरा असफल भैसकेको छ । ७ महिना भयो, तर ७ खर्बपनि राजश्व संकलन गर्न सकेन, आँफैले लिएको लक्ष्य भेटाउन नसक्ने सरकार कसरी सफल हुन्छ ? कसरी देशको विकास हुन्छ ? पुँजीगत खर्चको त्यस्तै हाल बनाईएको छ, माघसम्म एक खर्ब १८ अर्ब ४० करोड खर्च गर्ने लक्ष्य राखेको यो सरकारले जम्मा ६८ अर्ब ४१ करोडमात्रै पुँजीगत खर्च गरेको छ ।’
भ्रष्टाचारले भव्यता मनाएको र सुशासन सुनसान बनेको भन्दै अहिलेको सरकारबाट विकास र समृद्धिको कल्पना गर्नसमेत नसकिने साहको आरोप छ । सरकारले कर आतंक मच्चाएको तर जनतालाई कर तिरेबापत कुनै सेवा तथा सुविधा नदिएकोमा उनले आक्रोश पोखेका छन् ।