
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जे भन्छन् सो कुरा मान्नुपर्ने हो भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभामा बोल्दै मन्त्री खड्काले कुलमानले विद्युत प्राधिकरण नाफामा गएको भनेर झुट बोलिरहेको पनि दाबी गरेका छन् । ’आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन्,’ मन्त्री खड्काले भने, ’नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३०० रुपैयाँमा सेयर बेच्दा के भन्लान जनताले । कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने ?’
त्यस्तै उनले डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्बमात्रै उठाऊ भनेको र घिसिङले २२ अर्ब नै नाफा देखाएको खड्काको आरोप छ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् ।
उनले कार्यसम्पादन मूल्यांकनमा सहभागी नभएको कारणले शून्य अंक दिएको पनि प्रष्ट पारे । ‘यो भदौमा उहाँले कार्यसम्पादनको लागि अनुरोध गर्नु भएन। मूल्याङ्कन हुने कुरै भएन। भदौ व्यतित भइसकेपछि असोजमा उहाँलाई लिखित रुपमा स्मरण गराइयो। तपाईंले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो,’ मन्त्री खड्काले भने ।
’एकैचोटि पुसमा ल्याएर उहाँले आफैँले नम्बर दिएर मेरो ९८ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिनुभयो । यसको अर्थ के हो भने विद्यार्थी यदी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ?’ मन्त्री खड्काले सोधेका छन् ।