
काठमाडौं । एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार काठमाडौं आइपुगेका छन् ।
गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह समिट एयरको चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् ।
उनी केहीबेर विमानस्थलमै उच्च नेताहरू राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र राप्रपा नेपालका नेता कमल थापालगायतसँग छलफल गरेर बाहिर निस्केका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् ।
पूर्वराजा समर्थकहरू बिस्तारै विमानस्थलबाहिर चक्रपथबाट तिलगंगाको बाटो निर्मल निवासतर्फ अघि बढेका छन् । शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल परिसर पुगेका समर्थकले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल पनि भएको छ । पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो ।