
काठमाडौं । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।
आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनमा अपराजित रहँदै भारत च्याम्पियन बनेको हो।
यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। यसपछि भारतले सन् २०१३ मा दोस्रो पटक उपाधि जितेको थियो। सन् २००२ को विजेता न्युजिल्यान्डको दोस्रो पटक उपाधि जित्ने सपना भने पुरा हुन सकेन्।
आजको फाइनलमा २५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेटको नोक्सानीमा जित हात पार्यो। दुबई इन्टरनेशनल स्टेडियममा भारतले उत्कृष्ट सुरूवात गर्यो।कप्तान रोहीत शर्मा र शुभमन गीलले शतकीय साझेदारी गरे। यी दुईले पहिलो विकेटको लागि १०५ रनको साझेदारी गर्दै न्युजिल्यान्डका बलरलाई दबाब दिए। यो क्रममा रोहितले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा महत्वपुर्ण अर्धशतक प्रहार गरे। मिचेल स्यान्टनरको बलमा ३१ रन बनाएका शुभमन पहिलो विकेटको रूपमा आउट भए।
लगतै भरपर्दा अनि अनुभवी खेलाडी विराट कोहली सामना गरेको दोस्रो बलमा मात्र १ रन जोडेर आउट भए। उनलाई ब्रेसवेलले एलबीडब्लु धरापमा पारे। क्रिजमा जमेका रोहितलाई राचिन रविन्द्रले पविलियनको बाटो देखाइदिए। ८३ बल खेल्दै ७ चौका र ३ छक्का सहित उनले ७६ रन जोडे। यसपछि तेस्रो विकेटको नोक्सानीमा भारतले १२२ रन बनाएको थियो।
यसपछि श्रेयस अयर र अक्सर पटेलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे। श्रेयस अर्धशतकबाट २ रनले चुके। ४८ रनमा आउट भए। अक्सर पटेल २९ रन जोडेर पविलियन फर्के। केएल राहुल र हार्दिक पाण्ड्याले भारतलाई जिततर्फ डोर्याए। यो क्रममा १८ रनमा केयल जमयामीसनद्वारा कट एण्ड बोल्ड भए। केएल अविजित ३४ रनमा रहँदै भारतलाई जित दुलाउन सफल रहे।
बलिङमा मिचेल स्यान्टनर र माइकल ब्रेसवेलले २र२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले संघर्ष गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनायो। विल योङ्ग र राचिन रविन्द्रले पहिलो विकेटको लागि ५७ रनको साझेदारी गरे। योङ्ग १५ रनना आउट भएसँगै न्युजिल्यान्डको विकेट निरन्तर अन्तरालमा झर्यो। राचिनलाई ३७ रनमा कुलदीप यादवले बोल्ड आउट गरे।
लगतै मात्र ११ रन बनाएका केन विलियाम्सनलाई पनि कुलदीप यादवले कट एण्ड बोल्ड गर्दै पविलियनको बाटो देखाईदिए। ७५ रन जोड्दा ३ विकेट गुमाएको न्युजिल्यान्डले सुरूवात राम्रो गर्न सकेन्। टम लाथम १४ रनमा आउट भए।
यसपछि डार्यल मिचेल र ग्लेन फिलिप्सले पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोशिस गरे। फिलिप्स ३४ रनमा आउट भए। मिचेल र सातौं क्रमका ब्याटर माइकल ब्रेसवेलले अर्धशतक बनाए। मिचेलले १०१ बल खेल्दै सर्वाधिक ६३ रन जोडे। ब्रेसवेल अविजित ५३ रनना क्रिजमा रहे। उनले ४० बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे।
बलिङमा कुलदीप यादवले १० ओभरमा ४० रन दिएर २ विकेट लिए। १० ओभर नै खेलेका वरूण चक्रवर्तीले ४५ रन खर्चेर २ विकेट झारे। रविन्द्र जडेजा र मोहम्मद सामीले समान १ विकेट लिए।
भारत ग्रुप ‘ए’ को विजेता र न्युजिल्यान्ड यही समुहबाट उप विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। भारतले सेमिफाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।