
काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।
आइतबार पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न निकालिएको जुलुसले फोहरमैला गरेको तथा विरुवामा क्षति पुर्याएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको हो।
काठमाडौं महानगरले राप्रपा केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा ‘मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयवाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम रु। एक लाख जरिवाना गरिएको’ उल्लेख छ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार काठमाडौँमा उनको भव्य स्वागत गर्दै नाराजुलुस लगाएका थिए।
जुलुस त्रिभुवन विमानस्थलबाट नाराजुलुश गर्दै निर्मल निवाससम्म पुगेको थियो।