images

ढल्केबर–मुजफ्फरपुरबाट विद्युत लैजान भारत सहमत

काठमाडौं । नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउन सहमत भएका छन् ।

शनिबार भारतको राजस्थानमा बसेको ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकमा हाल भइरहेको आयात–निर्यातको क्षमता बढाउने सहमति भएको हो । ४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुँदै आएको छ । अब त्यहाँबाट ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

टनकपुर–महेन्द्रनगर १३२ केभी विद्युत प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत आयात–निर्यात गर्ने सहमति पनि भएको छ । साथै संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भावित विकल्पहरुको अध्ययन गराउन नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।

दोस्रो अन्तर्देशीय नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत भारतीय खण्डको निर्माण आगामी सन् २०२५ मार्चमा सम्पन्न गर्न सम्झौतामा चाँडै हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।

भारतीय अधिकारीहरुले नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेश गरेमा स्वीकृति दिन सकारात्मक रहेको बताएका थिए । नेपालबाट बिजुली भारतीय बाटो हुँदै बंगलादेश लैजानुपर्ने हुन्छ तर भारतले स्वीकृति दिएको छैन ।