images

एक वर्षको अवधिमा १६ लाखभन्दा बढी नेपाली विदेशिए

काठमाडौं–पछिल्लो १ वर्षको अवधिमा १६ लाखभन्दा बढी नेपालीले देश छाडेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट १६ लाखभन्दा बढी बाहिरिएका छन् ।

जसमध्ये ७० हजार ९१५ जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका छन् । तीमध्ये ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् ।

अध्यागमनको तथ्यांक अनुसार अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् ।

रोजगारीका लागि देश छाड्ने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ छ । रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागले जनाएको छ ।

सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार भिसाको प्रकृति अनुसार विदेशिनेहरुको तथ्यांक सार्वजनिक गरिएको हो । उनले बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश जानेहरुको संख्या धेरै रहेको बताए ।