सिरहा–तराई मधेशमा पतिको दीर्घायुको कामना गर्दै मिथिलानीहरुले आज वटसावित्री पर्व मनाउँदै छन् । सिरहा लगायत ग्रामीण भेगमा नव विवाहित महिलाहरू वरको रुखमा रातो पहेँलो धागो बाँधेर पतिको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउने गर्दछन् ।
विवाहित महिलाहरूले मनाउने यो पर्वलाई लिएर वर भएको ठाउँमा महिलाहरूको पूजाका लागि बिहानैदेखि भीड लागेको छ । पर्वमा महिलाहरू नयाँ सारी साया, ब्लाउज, लहठी, शृङ्गारका समानका अतिरिक्त पूजाको सामग्री किन्ने गर्दछन् । नव विवाहित महिलाहरूका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका अतिरिक्त पाहुर समेत आउने गर्दछ ।
वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रूपमा लिइने गरिन्छ । मिथिला संस्कृतिमा यो पर्व आदर्श नारीत्वको प्रतीक बनेको छ । यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ । हिन्दु धर्ममा पीपलको बोट जस्तै बरको बोटको पनि उत्तिकै महत्त्व रहेको छ । वरको बोटमा भगवान् ब्रह्मा, विष्णु र महेशको वास हुने पुराणहरूमा स्पष्ट भनिएको छ । यस वृक्ष मुनी बसेर पूजा, व्रत कथा आदि सुन्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ ।
वटसावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु पनि बढ्ने जनविश्वास रहेको छ । धार्मिक किंवदन्ती अनुसार वरको रुखमा ब्रह्मा, विष्णु र महादेवको बास हुने भएकोले वरको पूजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषि पुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरूले जेठ औँसीको दिन यो पर्व मनाउने गरेको पण्डित ननुथी मिश्रले बताए ।
यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान गरी वट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धूमधामका साथ यसलाई मनाउने गर्दछन् । विभिन्न फलफूल, अक्षता, धूप, दीपसहित विवाहित महिला गीत गाउँदै वट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकमा उल्लेख छ ।
केही वर्ष अघिसम्म व्राम्हण, कायस्थ र सुनार जातिका महिलाहरूले मात्र मनाउने यो पर्व पछिल्लो समय अन्य समुदायका महिलाहरू पनि मनाउन थालेका छन् । यो पर्व मनाउन नवविवाहिता महिलाहरूको माइतीबाट साडी, चोलो, चना, आँप, चुरा, दही बेन ९बाँसको पङ्खा० रातो पहेँलो धागो ९कोसेली० पठाउने गरिन्छ त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने हुनाले र त्यही रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएको धार्मिक विश्वाससहित यो पर्व मनाउने गरिन्छ ।