
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने कार्यसूची छ ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत हुनेछ ।
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिनेछ ।
यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ प्रस्तुत गर्ने छन् ।
सभामा ‘निजीकरण (पहिलो संशोधन( विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा तामाङ र माधव सापकोटाबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यक्रम छ ।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्ने छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तै, गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायत ११ वटा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।